काठमाडौं । काठमाडौंस्थित एक सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरू महिनौदेखि पारिश्रमिक नपाउँदा आर्थिक तथा मानसिक रूपमा पीडित बनेका छन् ।
फ्रन्टलाइन डिजिटल नेटवर्क प्राइभेट लिमिटेड (अनामनगर, काठमाडौं) द्वारा सञ्चालित नेपाली अनलाइन मिडिया खबर पोष्ट डट कम र अंग्रेजी अनलाइन मिडिया क्लिक नेपाल डटकममा कार्यरत श्रमजीवी पत्रकारहरु पीडित बनेका हुन् । फ्रन्टलाइन डिजिटल नेटवर्क प्रालिको अध्यक्षमा रेनुका गिरी छन् ।
यसैगरी रेनुकालाई नाम मात्रको अध्यक्षको जिम्मेवारी दिएर कार्यकारी भूमिकामा भने उनका श्रीमान् वसन्त वन छन् । आईटी व्यवसायी वन सांग्रिला माइक्रो सिस्टम प्रालि, सांग्रिला इन्फरम्याटिक्स र जिओ सफ्ट टेक्नोलोजी प्रालिका सञ्चालक पनि हुन् ।

पत्रकारहरुले आफूहरूको बक्यौता तलब उपलब्ध गराई श्रम अधिकार सुनिश्चित गर्न श्रमजीवी पत्रकार संघ नेपाल, पत्रकार महासंघ, सूचना तथा सञ्चार विभागलगायत सम्बन्धित निकायसँग न्यायको लागि अपिल गरेका छन् । उनीहरूले आर्थिक संकटका बीच काम गर्न बाध्य भएको भन्दै तलब उपलब्ध गराईदिन तत्काल पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेका छन् ।
सम्बन्धित निकायमा न्यायका लागि गुहारेको निवदेनअनुसार यो समाचार तयार पारुञ्जेलसम्म लगभग ३० महिनाको तलब लिन बाँकी छ । नियमित तलब नपाउँदा श्रमजीवी पत्रकारहरुलाई दैनिक जीवनयापन, घरभाडा, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न कठिनाइ भएको छ ।
अरु अन्यायमा पर्दा कलम चलाउने आफूहरुलाई मिडिया मालिकले चरम शोषण र अपमान गरेको उनीहरुको गुनासो छ । मिडिया मालिकले तलब एकमुष्ट आउँछ, भविष्य बन्ने गरि अझ आकर्षक सेवासुविधा दिइने छ भन्ने आश्वासन देखाउँँदै काममा लगाएर आफूहरुलाई बन्धक बनाएको उनीहरुले गुनासो गरेका छन् । पटक–पटक व्यवस्थापनको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको गुनासो छ ।
उक्त सञ्चारमाध्यममा कार्यरत पत्रकाहरुले पारिश्रमिक दिलाइ पाउँ भनेर सूचना तथा सञ्चार विभागमा २०८२ असोज महिनाको पहिलो हप्ता निवेदन पेस गरेका थिए । सूचना विभागले मिडिया प्रालिका सञ्चालकलाई श्रमिक पत्रकारसँग बसेर छलफलका लागि पत्र पठायो । तर मिडिया सञ्चालकले त्यसलाई वेवास्ता गरिदिए । यसैगरी पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तलब उपलब्ध गराएर न्याय गरिदिन निवेदन पेस गरे । महासंघले पनि पटकपटक छलफलको माध्यमबाट निष्कर्ष निकाल्नका लागि मिडिया सञ्चालकलाई ताकेता गर्यो । तर मिडिया सञ्चालकले पत्रकार महासंघको आग्रहलाई पनि वेवास्ता गरिदिएका छन् ।
पीडित पत्रकारहरु भन्छन्, हामीलाई मिडिया मालिकले अब चारवटा भाषा अंग्रेजी, हिन्दी, चाइनिज र नेपालीमा मिडिया लैजाने यहीँ काम गर्नुस् भविष्य छ भन्दै तलब नदिइकन बन्धक जस्तै बनाएर काम लगाउँदै आएको छ । हामीहरुले नियमितरुपमा काम गरेको भएता पनि एक दुई दिनमा, एक हप्ताभित्र, प्रोसेस हुँदैछ, अब तपाईहरुले ग्रान्ड सेलेब्रशन गर्दै चाड मनाउन पाउनु हुन्छ, अब एकैचोटि आउँछ, सञ्चालकलाई पनि पार्टी खुवाउनु पर्छ, अब यो महिना गुड रिजल्ट आउँछ भन्दै कहिलेकाहिँ दिएर ३० महिनासम्मको तलब दिइएको छैन ।
तलब आउँछ भनेर आशा देखाएपछि साथीभाइ, इष्टमित्र लगायतसँग ऋण लिँदै काठमाडौंको महँगीमा जीवनयापन गर्न बाध्य भएको उनीहरुको भनाइ छ । श्रम ऐन तथा श्रमजीवी पत्रकारसम्बन्धी कानुनी व्यवस्थाअनुसार तलब नदिनु गम्भीर श्रम शोषण हो । यसतर्फ मिडिया मालिक तथा सरोकारवाल पक्षले पीडित पत्रकारहरुलाई शीघ्र तलब उपलब्ध गराई न्यायको महसुस गराउनु पर्ने देखिएको छ ।

