काठमाडौँ, पुस ।नेपाल रिपब्लिक मिडिया अर्थात् नागरिक दैनिकले वर्षौंदेखि श्रमशोषण गर्दै आएको खुलेको छ । श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा दिनु त परै जाओस् काम गरेको महिनौँदेखिको तलब पनि नदिई चरम श्रमशोषण गरेको श्रमजीवी पत्रकार संघ नेपालको नागरिक दैनिक प्रतिष्ठान शाखाले जनाएको हो ।
नागरिक दैनिकमा काम गर्दै आएका पत्रकार तथा कर्मचारीहरूले बुधबार कम्पनीको साधारणसभास्थल नयाँ बानेश्वरको अर्पण बेंक्वेट परिसरमा नाराबाजीसहित धर्ना दिएका थिए । श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसी, श्रमजीवी पत्रकार संघ नागरिक प्रतिष्ठान शाखा संयोजक हेमराज भट्टराई र नेपाल पत्रकार महासंघ नागरिक प्रतिष्ठान शाखा अध्यक्ष रघुनाथ लामिछानेको नेतृत्वमा भएको धर्नामा श्रमजीवीहरूले टाउकोमा कालो कपडाको फेटा बाँधेर र मुखमा कालो टेप टाँसेर विरोध जनाएका थिए । त्यस्तै ‘ओ ! नागरिक दैनिकका मालिकहरू ! हाम्रो तलब कहिले दिने ?’ लेखिएको ब्यानर र ‘हाम्रो काटिएको तलब खै ?’, ‘चाडपर्व खर्च खै ?’, ‘सामाजिक सुरक्षा कोष कट्टी खै ?’, ‘उपदानको व्यवस्था खै ?’, ‘मालिकको पेट भर्नुपर्छ भने श्रमिकको पेट भर्नुपर्दैन ?’, ‘चरम श्रम शोषण बन्द गर’, ‘श्रमिकको अपमान गर्न पाइँदैन’, ‘श्रमिकको अपमान गर्न पाइँदैन’, जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर धर्ना दिएका थिए ।

यसअघि श्रमजीवीहरूले साधारणसभाअगावै श्रमिकका माग पूरा गर्न अल्टिमेटम दिएका थिए तर मिडिया हाउसका मालिकहरूले कुनै परवाह नगरेको बरु पत्रकारकै आवरणका केही आसेपासेहरूलाई आन्दोलनको स्वरूप कस्तो हुने भनेर जासुसी लगाएका थिए ।
त्यस्तै श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको हक र हितका लागि लड्ने भन्दै लामो समयदेखि नेपाल पत्रकार महासंघ नागरिक प्रतिष्ठान शाखा अध्यक्ष हुँदै महासंघको वाग्मती प्रदेशको नेतृत्व सम्हालेका बालकृष्ण अधिकारी हाल सो पब्लिक कम्पनीको बोर्ड सदस्यमा बसेर मालिक बनेका छन् भने संगठनकै नेता तर नागरिकमा काम गर्ने केही आसेपासेहरू सम्पादकको चाकडीमार्फत मालिक नजिक हुने र उल्टै आन्दोलनरत श्रमजीवीहरूविरुद्ध व्यवस्थापनका तर्फबाट प्रयोग हुँदै व्यंग्य गर्ने, घोचपेच गर्ने आन्दोलन तुहाउने र उपहास गरेर श्रमजीवीहरुलाई चिडाउने गरेका छन् । त्यसैगरी हामी पनि महासंघकै सदस्य भन्दै प्रधान सम्पादक गुणराज लुइँटेलले कर्मचारीलाई तर्साउने, धम्क्याउने, जागिर छाड्न दबाब दिने र आफैँ मालिक भए जस्तो व्यवहार देखाएर छोडेर जा भनेर धम्क्याउने गरेको उनीहरू बताउँछन् । सम्पादक लुइँटेल कर्मचारीको भेलामा साहूहरू हरिलठ्ठक छन्, कुरै बुझ्दैनन्, बरु तपाईँहरू आन्दोलन गर्नूस्, म पनि सघाउँला भनेर उचाल्छन् भने साहूहरूसँग गएर कर्मचारी काम गर्दैनन्, फटाहा भए, आन्दोलन गर्न खोज्दै छन्, मैले मिलाएर राखेको छु भनेर दोहोरो भूमिका खेल्ने र यस्तै षड्यन्त्रका आधारमा जागिर पकाइरहेका त्यहाँ कार्यरत पत्रकारले जानकारी दिएका छन् । त्यस्तै पारिश्रमिक पाऊँ भन्ने अनुरोध पत्र लिएर जाँदा जहिल्यै म पनि पीडित छु, जागिर छोड्दै छु, मलाई पनि तलब दिएको छैन भन्दै पन्छिन खोज्ने एचआर शाखाकी मनुजा देवकोटा कम्पनीको सचिवमा नियुक्त भएको समाचार नागरिक अनलाइनले नै छपाएको छ ।
श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको हकहित, सम्मान र पेशागत सुरक्षाका लागि भन्दै संघले निष्कासित श्रमजीवी पत्रकार तथा कर्मचारीहरूको विगत लामो समयदेखि चरम श्रमशोषण, काम गर्ने वातावरणको अभाव, समयमा पारिश्रमिक नदिने, हक अधिकारका लागि आवाज उठाउँदा अमर्यादित व्यवहार गर्ने, जबर्जस्ती निष्कासन गर्ने तथा कानुनी निकायबाट भएका फैसलासमेत कार्यान्वयन नगर्ने जस्ता गम्भीर समस्याको समाधान गर्न अनुरोध गरिएको थियो ।
संस्थाको स्थापनाकालदेखि नै करिब दुई दशकसम्म आफ्नो ऊर्जाशील समय, श्रम र क्षमता समर्पण गरेका पत्रकार तथा कर्मचारीहरू आजसम्म श्रम ऐन २०७४, श्रम नियमावली २०७५ तथा श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाबाट वञ्चित रहनु अत्यन्तै दुःखद र निन्दनीय भएको भन्दै संघले साधारणसभास्थलमा धर्ना आयोजना गर्ने निर्णय गरेको थियो । संस्थाले एकातर्फ न्यूनतम पारिश्रमिक नै दिएको छैन भने अर्कोतर्फ कोभिड–१९ को बहानामा करिब ४३ महिनासम्म ५० देखि ७५ प्रतिशतसम्म तलब कटौती गरेको छ, चाडपर्व खर्च, औषधोपचार, सामाजिक सुरक्षा, उपदानलगायत कुनै पनि वैधानिक सुविधा नदिएको त्यहाँ कार्यरत र निष्कासित पत्रकार तथा कर्मचारीले गुनासो गर्दै आएका छन् ।
केही कर्मचारीको सञ्चय कोष कट्टी गरेको भए पनि सो रकम कोषमा जम्मा नगरी साहूहरूले आफ्नै मोजमस्तीमा लगाएका छन् । यसका साथै श्रम तथा रोजगार कार्यालय हुँदै श्रम अदालतबाट भएका फैसलाहरू समेत कार्यान्वयन नगरी पब्लिक कम्पनी नेपाल रिपब्लिक मिडियाले कानुनी राज्यको उपहास गरेको अध्यक्ष जन्मदेव जैसीले बताए । आफूहरू राज्य र यसका कानुनभन्दा माथि भएकाले कसैले केही गर्न नसक्ने साहूहरूले दाबी गर्दै आएका छन् भने कम्पनीलाई आइपर्ने कुनै पनि समस्या आफूले मिलाइदिने भएकाले अदालतको आदेश कारबाही नगर्न व्यवस्थापनलाई सम्पादक लुइँटेलले उक्साउँदै आएको जानकारी पनि नागरिकका कर्मचारीले दिए ।
पब्लिक कम्पनीका रूपमा दर्ता भएको संस्थाले श्रमिकको पसिना र मेहनतबाट संस्था यहाँसम्म पुगेको यथार्थलाई बेवास्ता गर्दै तलब नदिने, दबाब सिर्जना गर्ने, सरुवा गर्ने वा जागिर छोड्न भन्दै धम्क्याउने, समाचार प्रकाशनमा रोक लगाउने जस्ता कार्य गर्नु कानुनी र नैतिक दुवै हिसाबले अक्षम्य अपराध भन्दै संघले चेतावनी दिएको छ । यसै सन्दर्भमा, श्रमजीवी–पत्रकार संघ, नेपाल नागरिक प्रतिष्ठान शाखाले मिति २०८२।०५।०८ गते सेवासुविधासहितका मागहरू राखी ज्ञापनपत्र बुझाई वार्तामार्फत समाधान खोज्न अनुरोध गरेको थियो । तर उक्त ज्ञापनपत्रप्रति कुनै औपचारिक जवाफ वा पहल नहुनुले व्यवस्थापनको गैरजिम्मेवार चरित्र स्पष्ट देखाएको संघले निष्कर्ष निकालेको छ ।
अल्टिमेटम पत्रको अन्तिममा संघले संवाद र समाधानमै विश्वास राख्दै यो अल्टिमेटम बुझाएको भनेर उल्लेख गरे पनि मिडिया हाउसले यस विषयमा कुनै चासो नदेखाएको संघले गुनासो गरेको छ ।
धर्नास्थलमा जे देखियो…

पुस ३० गते १० बजेदेखि नयाँ बानेश्वरको अर्पण बेंक्वेटमा नेपाल रिपब्लिक मिडियाका मालिकहरूले साधारण सभा आयोजना गरेका रहेछन् । मालिकहरू चिल्ला गाडी लिएर कार्यक्रमस्थलमा प्रवेश गरे धुलो उडाउँदै । गेटको भित्र करिब १३, १४ जना श्रमजीवी मुखमा कालो टेप टाँसेर आफ्नो र आफ्ना आश्रित परिवारको पालनपोषणका लागि आफ्नो पारिश्रमिकका लागि धर्नामा थिए । पुसको बिहानको चिसो ठन्डी, भित्र मालिकहरू र उनीहरूका आसेपासे चिया/कफीको चुस्की र चमेनाको स्वादमा रमाउँदै थिए । तिनै श्रमिकले बगाएको पसिना चियाकफीको चुस्कीमा स्वादिँदै रमाउँदै थिए । एकछिनपछि कार्यक्रम सकेपछि व्यञ्जनका प्रकारमा रमाए । उता स्थापनाकालदेखि रगत र पसिना बगाएर संस्थालाई धनी बनाउने श्रमजीवीहरू भने साहूको सम्पत्ति होइन, आफूले बगाएको रगत र पसिनाको मूल्य माग्दै थिए, चियाचमेना र व्यञ्जनका परिकार त परै जाओस् ।
नजिकै पुलिस प्रशासनबाट खटिएका पुलिस साथीहरू श्रमिकले बोकेका नाराहरू पढेर दुःखी अनुहार लगाएर सहानुभूति प्रकट गर्दै थिए । मान, श्रमिकको रगत र पसिनामा होली खेल्ने हाम्रो समाजको सामन्ती प्रथालाई गिज्याउँदै थिए उनीहरू । किनकि उनीहरूले धरपकड नगरी मानौँ, मौन समर्थन गरेजस्तो देखिन्थ्यो त्यहाँको दृश्य । काम लगाउने, सम्पत्ति कमाउने तर दाम नदिने ती मिडिया हाउसका मालिकहरू भित्र बसेर योजना बनाइरहेका थिए होलान् शायद । किनकि ती पीडित कर्मचारीले भनेअनुसार साधारण सेयर आइपिओ खोलेर सर्वसाधारणको ४३ करोड रुपियाँ उठाएका मालिकहरू पब्लिक कम्पनी भन्दै रातारात धनी भएको यो ज्वलन्त उदाहरण हो । फेरि हकप्रद सेयरमार्फत करोडौँ आमनागरिकको पैसा जम्मा गरेर जनताको पैसा दोहन गर्ने तयारीमा मालिकहरू रहेका र यो जालझेलमा नफस्न धर्नास्थलका श्रमजीवीहरू आगन्तुकहरूलाई सुझाइरहेका थिए अर्थात् आउने/जानेहरूलाई सचेत गराइरहेका थिए । अन्तमा त्यो चिसो मौसमलाई परास्त गर्न नसकेर होला, ती श्रमजीवीहरू करिब आधा घण्टापछि आआफ्नो बाटो लागेका थिए । बुधबार काठमाडौँको तापक्रम करिब २ डिग्रीमा झरेको थियो भन्दै थिए कि हामी हाम्रो रगत र पसिनाको मूल्य कुनै हालतमा पनि छाड्दैन असुलउपर गराएरै छोड्छौँ।
