रामगढ । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीको छिमेकी देश भारत भ्रमण भव्यतापूर्वक सम्पन्न भएकाे छ ।
भारती श्रमजीवी पत्रकार संघको निमन्त्रणामा उनीसहित ८ जनाको पदाधिकारी टाेली भारत गएका हुन्। भ्रमणका क्रममा अध्यक्ष जैसीले श्रमजीवी पत्रकारहरूको पेशागत हकहित, मर्यादा र अधिकारका विषयमा नेपाल र भारतका पत्रकार संगठनहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्। उनले दुई देशका संगठनहरू एउटै मञ्चमा उभिएर दक्षिण एशियाका सबै श्रमजीवी पत्रकारका साझा मुद्दामा काम गर्नुपर्नेमा जोड दिए।
भारत बसाइँका दौरान उनले भारती श्रमजीवी पत्रकार संघका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरिरहेका छन्। उक्त भेटमा पत्रकारहरूको अधिकार, सुरक्षा र पेशागत सुदृढीकरणका विषयमा विचार आदान–प्रदान भइरहेको छ।

अध्यक्ष जैसीले यस भ्रमणलाई दक्षिण एसिया क्षेत्रमै श्रमजीवी पत्रकारहरूको साझा संगठन निर्माण गर्ने पहलका रूपमा पनि महत्वपूर्ण भएको उल्लेख गरे। उनले क्षेत्रीय स्तरमा एकीकृत आवाज उठाउन सके पत्रकारहरूको हकहित अझ प्रभावकारी रूपमा संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे। भारतको राँचीमा अायाेजित भारती श्रमजीवी पत्रकार संघको १२ अाै कार्यकारिणाी सभामा सम्बाेधन गर्दै अध्यक्ष जैसीले साे धारणा राखेका हुन् । त्यहाँस्थित भारती श्रमजीवी पत्रकार संघका राष्ट्रिय अध्यक्ष अशाेक पाण्डेयसहितको पदाधिकारी र नेपालको तर्फबाट गएकाे श्रमजीवी पत्रकार संघका पदाधिकारीसँग भेटवार्ता भएकाे थियाे ।
यो भ्रमणले नेपाल–भारतबीचका पत्रकार संगठनहरूबीच सम्बन्ध अझ सुदृढ बनाउने र भावी सहकार्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको भारती श्रमजीवी पत्रकार संघका राष्ट्रिय अध्यक्ष अशाेक पाण्डेयले बताए । नेपालको तर्फबाट अध्यक्ष जैसीसहित श्रमजीवी पत्रकार संघका पदाधिकारीहरू इश्वर अर्याल, नविन सुवेदी, सन्देश अर्याल, सम्पदा बुढा, नारायण अर्याललगायत थिए ।

कार्यकारिणी सभामा बाेल्दै जैसीले नेपाल र भारतमा कार्यरत श्रमजीवी पत्रकारहरूलाई दुवै देशको सांस्कृतिक परम्परा, रीतिरिवाज र पत्रकारिता मूल्यमान्यता बुझ्ने अवसर प्रदान गर्ने र अन्तर्राष्ट्रिय स्तरमा मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

भारती श्रमजीवी पत्रकार संघ (BSPS) को १२औँ राष्ट्रिय कार्यकारिणी बैठक भारतको झारखण्ड राज्य अन्तर्गत रामगढ जिल्लाको पतरातूस्थित अलेक्सा रिसोर्टमा सम्पन्न भएको छ। मे १ मा आयोजित उक्त बैठकमा भारतका विभिन्न राज्य तथा नेपालबाट पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी हजारीबागका सांसद मनिष जैसवालले पत्रकारहरूको समस्याबारे गम्भीरतापूर्वक छलफल गर्दै पत्रकारहरूले उठाएका प्रमुख मागहरू सरकारसमक्ष पुर्याउने प्रतिबद्धता जनाए। उनले रेल यात्रामा पूर्ववत् सहुलियत, सडक टोल छुट, पत्रकार सुरक्षा कानुन तथा स्वास्थ्य बीमा योजना लागू गर्न सम्बन्धित निकायसँग पहल गर्ने बताए। साथै उनले संघका प्रतिनिधिमण्डलसँग रेलमन्त्री तथा सूचना तथा प्रसारणमन्त्रीसँग छिट्टै भेट गराउने आश्वासनसमेत दिएका थिए।
सांसद जैसवालले झारखण्डमा हुने खनिज चोरी तथा लुटका घटनाहरू सार्वजनिक हुनुमा पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै पत्रकारिता लोकतन्त्रको महत्त्वपूर्ण आधार भएको बताए।
त्यसैगरी बड़कागाँवका विधायक राेशनलाल चाैधरीले पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने धारणा व्यक्त गर्दै पत्रकारहरूबाट आफूले सधैं सहयोग पाएको बताए।
कार्यक्रमको अध्यक्षता BSPS का राष्ट्रिय अध्यक्ष अशाेक पाण्डेयले गरेका थिए भने सञ्चालन महासचिव नवीन आनन्द जोशी र राष्ट्रिय सचिव चन्दन मिश्रले गरेका थिए। कार्यक्रममा संघका संस्थापक शाहनवाज हसनले स्वागत मन्तव्य राख्दै संगठनको उद्देश्य र हालसम्मका उपलब्धिबारे जानकारी गराएका थिए। उनले पत्रकार हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकारसमेत रहेका अध्यक्ष अशोक पाण्डेयले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र चुनौतीबारे चिन्ता व्यक्त गरे। उनले पत्रकारिता क्षेत्र संकटमा पर्नु भनेको लोकतन्त्र नै संकटमा पर्नु भएको उल्लेख गर्दै स्वस्थ, जिम्मेवार र संयमित पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरे।
बैठकमा विभिन्न संगठनात्मक निर्णयसमेत गरिएको छ। पश्चिम बंगाल इकाइका अध्यक्ष शैलेश्वर पाण्डालाई BSPS को राष्ट्रिय उपाध्यक्षमा मनोनयन गरिएको छ भने झारखण्ड जर्नलिस्ट एसोसिएसन र पश्चिम बंगाल इकाइको नयाँ कार्यसमिति चाँडै घोषणा गर्ने निर्णय गरिएको छ। मध्यप्रदेशका अध्यक्ष अरुण सक्सेनालाई राजस्थान इकाइ विस्तारको जिम्मेवारी दिइएको छ भने चण्डीगढ, हरियाणा, पञ्जाब, तेलंगाना, कर्नाटक, पुडुचेरीलगायत क्षेत्रमा संगठन विस्तार गर्ने जिम्मेवारीसमेत तोकिएको छ।
बैठकले जुलाई महिनामा मध्यप्रदेशको माण्डवमा राष्ट्रिय कार्यकारिणी बैठक तथा सेप्टेम्बरमा लखनउमा तीनदिने राष्ट्रिय कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। कार्यक्रममा नेपालबाट सहभागी भएका जन्मदेव जैसी ले पत्रकारहरूको साझा अधिकार, सुरक्षा र दक्षिण एसियाली स्तरको सहकार्यको आवश्यकता औँल्याएका थिए।
बैठकमा मध्यप्रदेश, असम, बिहार, पश्चिम बंगाल, आन्ध्र प्रदेश, उत्तर प्रदेश, उत्तराखण्ड, नेपाललगायत विभिन्न राज्य तथा क्षेत्रका पत्रकारहरूले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा सहभागी अतिथिहरूलाई स्मृति चिन्ह तथा बुके प्रदान गरी सम्मानसमेत गरिएको थियो।
