काठमाडौं । त्यो बिहानको घाम केही बेर लागेर फेरि लुक्यो । अर्जुन (नाम परिवर्तन)को मुहारमा छायाँ मात्रै थियो—निराशा, थकान र अन्यायको । पत्रकार अर्जुन, केही महिनाअघि टिभीको गेटमा “पासो लगाएर म मर्छु“ भन्ने अवस्थामा पुगे ।
नेपालकै “सवोत्कृष्ट“ दाबी गरिएको एभिन्यूज खबर टिभी । नाम ठूला, दाबी अझै ठूला । तर भित्रबाट सुनिँदै थियो एक पत्रकारको चित्कार—“खाने पैसा छैन, कोठा भाडा तिर्न नसक्ने भएँ” ।
अर्जुन जस्ता पत्रकार एभिन्यूजमा केवल समाचार बनाउने होइन, आफैं समाचार बन्दै छन् । समयमा तलब आउँछ भन्ने सुगरकोटेड वाचा कहिले कागजको खोस्टो भयो, थाहै पाएनन् । मासिक तलब होइन, वार्षिक उधारोजस्तो भएको त्यो संस्थाले जब अर्जुनले ज्ञापनपत्र बुझाए, जवाफ थियो—“तपाईंलाई त हटाउने हो अब” ।
जागिरबाट हटाइएपछि अर्जुन पत्रकार महासंघ धाए । प्रहरीसँग सहयोग मागे। टेलिभिजनको अध्यक्षको विरुद्ध पत्रकार सम्मेलन गर्ने धम्कीपछि बल्ल तलब हात प¥यो । तर प्रश्न रहिरह्योः तलब माग्नु अपराध हो?
अर्जुन त बाँच्न सफल भए । तर कार्यालय भित्रै अझै ११ महिना तलब नपाएका कर्मचारी छन् । ७ महिनादेखि पैसा नपाएका सापकोटा थरका दुईजना, भर्खरै मात्र राजीनामा दिएका न्यौपाने थरका पत्रकार—सबैको अनुहारमा एउटै प्रश्न छ—‘कस्तो विडम्बना!’ कहिले तलव आउँछ ?
काम छोडौँ भने ११ महिनाको तलब डुब्छ, बसौँ भने चार महिना भइसक्यो—“सुनुवाइ छैन“, भन्छन् त्यहाँ काम गर्ने कर्मचारीहरू । बिरामी हुँदा इमरजेन्सीको खर्च माग्दा पनि सुन्दैनन् रे। मानव संसाधन विभाग प्रमुख त मात्र एउटा लाइन भन्छन्, “माथि पुर्याएको छु“। तर त्यो “माथि“ कति माथि गयो? पर्खाइ अझै कायम छ ।
राज थापा । नाम लुकाएका छैनन् । फेसबुके भित्तामा पोखिएको छ पीडाः
“दैनिक अभावको पीडा, उल्टै हेपाइ अनि थर्काइ…“
“डर त फिटिक्कै लाग्दैन कस्सैसँग…“
“प्रतिक्षारत छु, खेलाँची नसोच्नु…“
नेपालमा पत्रकारिता ‘मिशन’ हो भनेर पढिन्छ, तर काम गर्ने पत्रकारहरू शोषणमा छन्। न्यूनतम श्रम कानुन कार्यान्वयन हुँदैन। श्रमिकलाई न त सम्मान छ, न सुनुवाइ । मिडियाका धनी मालिकहरू समाचारमा न्यायको भाषण गर्छन्, आफ्नै गेटभित्र अन्याय लुकाउँछन् ।
एभिन्यूज मात्र होइन, दर्जनौं मिडिया संस्थाहरूमा यस्ता अर्जुन छन्, जो आँसु पुछेर काम गर्न बाध्य छन् ।
