Shadow

अर्थ न्यूज टेलिभिजनका श्रमजीवी पत्रकार, कर्मचारीआन्दोलित


  • -इ
  • इ+

ललितपुर कृष्ण गल्लीमा कार्यालय रहेको अर्थ न्यूज टेलिभिजनका श्रमजीवी पत्रकार तथा कर्मचारी आन्दोलित भएका छन् । उपकार मिडिया ग्रुुपद्वारा सञ्चालित टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले लामो समयदेखि तलब नपाएपछि सोमबार कार्यालय घेराउ गर्दै नाराजुलुस गरेका हुन् ।

टेलिभिजनका पत्रकारले महिनौंदेखि तलब नपाएको जानकारी दिएका छन् । अर्थ न्यूजका कार्यकारी निर्देशक कमल शाहले आफूहरुलाई झुक्याएको र झुलाएको पीडितहरुको आरोप छ । ७० भन्दा बढी श्रमजीवी पत्रकार तथा कर्मचारी कार्यरत रहेको अर्थ न्यूज टेलिभिजनको हाल प्रसारण बन्द छ ।

टेलिभिजनका सञ्चालक केदारनाथ शर्मा निक्षेपकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा पुगेपछि टेलिभिजन प्रसारण रोकिएको हो । गत असार ८ गतेसम्म टिभी सञ्चलनमा थियो ।

प्रसारण बन्द हुनुअअघिको तलब र सेवासुविधा लिन बाँकी रहेको कर्मचारीहरुको भनाइ छ । जसअनुसार तीन महिनादेखि पाँच महिनासम्मको पारिश्रमिक रोकिएको छ।

अर्थ न्यूजमा काम गर्ने पत्रकारले तीनदेखि पाँच महिनासम्मको तलब पाएका छैनन् । प्रसारण बन्द हुनुअगावैको तलब बाँकी छ । ‘हामीलाई दिने भनिएको सेवासुविधा पनि अहिलेसम्म दिइएको छैन । पटकपटक कार्यकारी निर्देशक कमलको ध्यानाकर्षण गराइसक्यौं, तैपनि बेवास्ता गरिएको छ,’ आन्दोलित पत्रकारले भने । शाहले असार मसान्तभित्र सबैको तलब भुक्तानी गर्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको पीडितहरुको भनाइ छ ।

तलब उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरुले सूचना प्रविधि विभाग र श्रमजीवी पत्रकार संघ, नेपालमा निवेदन दिएका छन् । संघकै नेतृत्वमा ‘श्रमजीवी पत्रकार संघ, अर्थ न्यूज टिभी संघर्ष समिति’ खडा गरेर सोमबारदेखि पहिलो चरणको आन्दोलन थालिएको हो । यता, संघले कार्यकारी निर्देशक शाहलाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको छ ।

टेलिभिजनका अध्यक्ष शर्मा आउँदा पनि गुमनाम राखेर भेट्नसमेत नदिएको गुनासो श्रमजीवी पत्रकारको रहेको छ । अहिले भने शर्मा सहकारी प्रकरणमा प्रहरी हिरासतमा रहँदा आफूले केही गर्न नसक्ने भन्दै शाह पन्छिन खोजेको आरोप श्रमजीवी पत्रकारको छ ।

टेलिभिजन बन्द भएपछि श्रमजीवीको तलब दिनु नपर्ने भन्दै हिँडेका र तलब तथा सेवासुविधाअन्तर्गतको बाँकी रकम नदिने नियत लिएको उनीहरुको आरोप छ । सञ्चालकको गलत नियत देखिएपछि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारले संघसमक्ष सहयोग अपिल गरेपछि संघको तर्फबाट प्रक्रिया अघि बढाइएको हो ।

श्रमजीवीहरुले औपचारिक आन्दोलन सुरु गरेको संघका अध्यक्ष जन्मदैव जैसीले बताए । उनीहरुलाई अल्झाउने कार्य गरे आन्दोलन थप सशक्त बनाउने जैसीको भनाइ छ । सोमबारको आन्दोलनमा दर्जन बढी श्रमजीवी पत्रकार कर्मचारी उपस्थित थिए । उनीहरुले ‘अर्थ न्यूज पीडित श्रमजीवीका मागहरु पूरा गर’, ‘कुनै पनि बहानामा अब श्रमजीवीलाई झुलाउने काम बन्द गरियोस्’, ‘अर्थ न्यूज व्यवस्थापकले दिनुपर्ने सम्पूर्ण श्रमजीवीको तलब तुरुन्त उपलब्ध गराओस्’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्