Shadow

सम्पादकीय स्वतन्त्रताको पक्षमा लागे जागिर जान्छ


  • -इ
  • इ+

चन्द्र खाकी
कान्तिपुर पत्रिकामा यतिखेर श्रमजीवीहरु आन्दोलित छन् । कुनैबेला एउटा सामान्य व्यापारीको हैसियत राख्ने तथा कान्तिपुरको माध्यमबाट व्यवसायमा साम्राज्य खडा गरेका तथा अकूत सम्पत्ति कमाएका कैलाश सिरोहियाहरु यतिखेर संस्था घाटामा गएको अरण्यरोदन गरिरहेका छन् ।

उसले कान्तिपुरलाई अहिलेको अवस्थामा ल्याउन रगत पसिना बगाएका श्रमजीवीहरुलाई विभिन्न कारण र बहानाहरु तेर्स्याएर घोक्रेठ्याक लगाउन खोज्दैछ/लगाइरहेका छन् । त्यसैको प्रतिरोधमा त्यहाँका श्रमजीवीहरुले जीवन–मरणको संघर्ष गरिरहेका छन् ।

यो संघर्षमा धेरैको अपेक्षा छ– सम्पादकीय नेतृत्व सम्हालिरहेका उमेश चौहान र उनको टिमले पनि साथ दिउन्, कम्तीमा कान्तिपुरमा मालिकका रोदन छापिदिँदा श्रमजीवीका आवाजहरुलाई पनि साथसाथै स्थान दिउन् । उनीहरु सम्पादकीय स्वतन्त्रताका पक्षमा दह्रोसँग उभिउन् र श्रमजीवीहरुको संघर्षका खबरलाई नदबाउन् ।

श्रमजीवीहरुको संघर्षले ‘जनताको सूचनाको हकमा आघात पुगेको’ रोदन सिरोहियाहरु र उनका पक्षमा खडा भएका ‘नेता पत्रकार’हरुले गरिरहँदा श्रमजीवीहरुको संघर्षका खबरबारेको सूचनाबाट पनि आमजनताहरु बञ्चित नहोउन् भन्ने अपेक्षा संघर्ष गरिरहेका श्रमजीवी तथा उमेश चौहनका हितचिन्तकहरुले गरिरहेका छन्, लेखिरहेका छन् ।

  • जसले सम्पादकीय स्वतन्त्रताको पक्षमा आफूलाई दह्रोसँग उभ्याउँछ, उसले खल्तीमा राजीनामा राख्ने हिम्मत गर्न सक्नुपर्छ ।

यसरी लेख्नेमा मैले रुचाएका र आशा–भरोसा गरेका क्षमतावान पत्रकार मित्रहरु नरेश ज्ञवाली र रोहेज खतिवडा पनि छन् । मेरा अर्का मित्र जन्मदेव जैसी त संघर्षको यो मोर्चामा श्रमजीवीहरुसँग काँधमा काँध मिलाएर लडिरहेका छन् ।

त्यसैले यो सानो टिपोट लेख्न मन लाग्यो । विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यसलाई नेपालको सम्पादकीय स्वतन्त्रताबारे मेरो नितान्त व्यक्तिगत अनुभूति र बुझाइको अर्थमा मात्रै ग्रहण गरिदिन हुन अनुरोध छ ।

धेरै सम्पादक–पत्रकारहरुलाई लाग्ने गर्छ– उनीहरुको काम लेख्ने हो, व्यवस्थापनको काममा बोल्ने होइन । अझ, सोझै मालिकको स्वार्थसँग जोडिने सवालहरुमा त बोल्ने नै होइन, मुखमा दही जमाएर बस्ने हो, शुतुरमुर्गले बालुवामा टाउको लुकाएजस्तै आफ्नो टाउकोलाई विषयवस्तुबाट अन्यत्रै मोड्ने हो ।

दुनियाँभरिका शोषण–उत्पीडनका बारेमा छिन्द्रावेषण गरेर हिँड्ने पत्रकारले आफ्नै कर्मक्षेत्रभित्रका शोषण–उत्पीडनकोबारेमा चाहिँ तै चुप, मै चुप गर्ने हो ! मेरो बुझाइ यसको ठीक विपरीत छ । सम्पादकीय नेतृत्व सम्हाल्नेले संस्थामा कार्यरत श्रमजीवीहरुको सही र जायज आवाजलाई मालिकसमक्ष राखिदिने काम पनि गर्नुपर्छ । उनीहरुको हकहितको पक्षमा सही र सत्य कुराहरु राखिदिने हिम्मत पनि गर्नुपर्छ ।

सम्पादकीय स्वतन्त्रता भन्ने कुरा नेपालमा ‘आकाशको फल आँखा तरी मर’ भन्ने मात्रै हो । मालिकको जायज–नाजायज चाहनाको अगाडि ‘सम्पादकीय स्वतन्त्रता’ हात्तीको देखाउने दाँत मात्रै हो । उनले भनेका कुराहरु जङ्गे आदेश हो, सम्पादक पत्रकारहरुले मान्नैपर्छ ।

मालिकले भनेको–चाहेको समाचार छापिनै पर्छ । नेपाली पत्रकारिता यो अवस्थामा रहँदासम्म मालिकको चाहना अगाडि सम्पादकीय स्वतन्त्रता घिटिघिटी भई छट्पटाएर मर्छ, मर्छ । जसले सम्पादकीय स्वतन्त्रताको पक्षमा आफूलाई दह्रोसँग उभ्याउँछ, उसले खल्तीमा राजीनामा राख्ने हिम्मत गर्न सक्नुपर्छ ।

कुनै बेला मैले पनि रातोपाटी नाम गरेको अनलाइनमा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरेको थिएँ । कोरोनाको कहरमा ‘आम्दानी घटेको’ नाममा श्रमजीवीहरुको तलब काटिँदा अनि सम्पादकहरुको अनुमोदन र जानकारी बेगर नै ‘न्यायाधीशहरुको हुर्मत काँडिएको’ अप्रमाणित समाचार छापिँदा मेरो विमति रह्यो ।

तलब काटिएको विरुद्ध लगातार आवाज उठाउँदा अनि सम्पादकहरुलाई थाहा नदिइकन छापिएको अप्रमाणित समाचारको बारेमा मालिक सञ्चालकको अनिच्छाका बाबजूद ‘सम्पादकीय स्वतन्त्रता’ को भिटो प्रयोग गरेर खण्डन छाप्दा मैले जिम्मेवारी मुक्त हुनुपर्‍यो ।

त्यो अवस्था कुनै पनि बेला आउने र त्यसमा सम्झौता गर्दै नगर्ने मेरो प्रण रह्यो । फलतः आत्मस्वाभिमानलाई सदैव माथि राख्ने मेरो स्वभावका कारण त्यसले मलाई खासै फरक परेन ।

त्यसैले, उमेश चौहानबाट सम्पादकीय स्वतन्त्रताको अपेक्षा गर्ने मेरा मित्रहरु नरेश ज्ञवाली र रोहेज खतिवडा तपाईंहरुले मैले भन्न खोजेको कुरा पक्कै बुझिसक्नुभयो । जुन दिन उमेश चौहन सम्पादकीय स्वतन्त्रताको पक्षमा दह्रोसँग उभिनेछन्, त्यो दिन उनको कान्तिपुरमा कार्यरत हुने अन्तिम दिन हुनेछ ।

यो चन्द्र खाकीको फेसबुक स्टाटसबाट लिइएको हो । सान्दर्भिक लागेर प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्