Shadow

केन्द्रीय कार्यसमितिको तीतो मेटाउन शशांकको चिया


  • -इ
  • इ+

साउन २ गतेदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । एकवर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा दुई समूहका बीचमा तित्ततापूर्ण प्रस्तुति रह्यो । तर यही तिक्ततालाई कम गर्नका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री वीपी पुत्र डा शशांक कोइरालाले मंगलवार चियापान आयोजना गरे । उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने र अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए । कोइरालाले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।

उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो रु त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’


चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापतिहरू, महामन्त्री सहमहामन्त्री केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ । सो कार्यक्रममा डा कोइरालाले पूराना नेता तारानाथ रानाभाट, महेश आचार्य लगायतका नेताहरूलाई पनि निम्ता गर्नुभएको थियो । कार्यक्रममा शेखर कोइराला पनि ढिलो गरि पुगेका थिए ।

देउवाले चिया खान बोलाएकोमा शशांकलाई धन्यवाद दिए पनि थप केही बोलेनन् । कांग्रेसको २ साउनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठक बुधबार पुनः बस्ने कार्यसूची छ । केन्द्रीय कार्यसमिति बैठक विश्रामको दिन कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले सानेपा भेलाको तिक्तता मेटाउन लैनचौरस्थित लैनचौर बैैंक्वेटमा चियापान आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्