Shadow

तलब नदिएपछि जनता टिभीको गेटमा श्रमजीवी-पत्रकार संघकाे धर्ना


  • -इ
  • इ+

काठमाडौं । जनता टेलिभिजनमा पूर्वकार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीकाे नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन ।

धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१औं शताव्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए । धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णु कुमार गिरी, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, लगायत एक दर्जनबढी पत्रकारहरूको सहभागीता थियो ।

धर्नामा सहभागीहरूले “जनता टिभीमा काम गरेका सम्पूर्ण श्रमजीवीको बाँकी बक्यौता तत्काल भुक्तानी गर”, पटक पटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गर, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा र सामाजिक सुरक्षा कोष तत्काल लागू गर” लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रारम्भिक चरणको आन्दोलनमा कार्यालयमा धर्ना दिने, अझै पारिश्रमिक नआए सञ्चालक सदस्यहरूको घरमै पुगेर धर्ना दिने र त्यसपछि पनि अटेर गरे सबैको तस्वीरको पोस्टर बनाएर सञ्चालक समितिको छिमेक वरपर बाँड्ने कार्यक्रम रहेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।

पीडित पत्रकार तथा कर्मचारीहरूले टेलिभिजन व्यवस्थापन सामू तीन दिने अल्टिमेटम दिँदै ६ बुँदे माग राखेका छन् । पारिश्रमिक भुक्तानीको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि संस्थाले प्रतिवद्धता जनाएअनुसार पारिश्रमिक भुक्तानी नभएका कारण आन्दोलनका कार्यक्रम अधि सार्न बाध्य भएको एक पीडित पत्रकारले बताए ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय पौडेलले चाँडै नै समस्याको समाधान गरिने बताए । उनले बक्यौता बाँकी रहेका पत्रकार तथा कर्मचारीको पारिश्रमिक भुक्तानि गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्