Shadow

पाँच दिनपछि पत्रकार महासंघकाे क्रमशः धर्ना, घर घेराउ र सत्याग्रह


  • -इ
  • इ+

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन अन्तर्गत ताेकिएकाे पारिश्रमिक र सेवासुविधा नदिने सञ्चारगृहमै सत्याग्रह गर्ने भएकाे छ । महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित चेतावनी पत्रमा अबकाे पाँच दिनभित्र समस्या हल नगरे धर्ना हुँदै सत्याग्रहसम्मका कार्यक्रम तय गरेकाे छ । पहिलाे चरणमा काराेबार दैनिक, अन्नपुर्ण दैनिक र राजधानी दैनिकमा पत्राचार गरि समस्या हलका लागि महासचिवद्वारा हस्ताक्षरित पाँच दिनकाे अल्टिमेटम पत्र विहिवार नै बुझाइएकाे त्यसपछि धर्ना, साहुहरुकाे घर घेराउ र सत्पाग्रहकाे कार्यक्रम तय भएकाे केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।
कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहालीको माग गर्दै महासंघले धर्ना-घेराउदेखि सत्याग्रहसम्मका कार्यक्रम बनाइएकाे श्रमजीवी हित प्रवर्द्धन समितिका सह-संयाेजकसमेत रहेका जैसीले जनाए ।
निष्कासित पत्रकारहरुको स-सम्मान पुनर्बहाली, यसबीचको तलब-भत्ता उपलब्ध गराउन, दसैं खर्चलगायत विगतमा दिँदै आएका सेवा-सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावलीअनुसारका सेवा-सुविधा उपलब्ध गराउन पाँचदिने अल्टिमेटम दिँदै महासंघले ती सञ्‍चार गृहहरुमा बिहीबार पत्र पठाइसकेकाे छ ।

अन्‍नपूर्ण पोस्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टीबीआई पब्लिकेसन्स प्रालि र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्युज पब्लिकेसन प्रालिलाई पटक-पटक लिखित र मौखिक पत्र तथा वार्ताबाट महासंघले गरेको आग्रहबमोजिम श्रम समस्या समाधान नगरेकाले आन्दोलन थाल्न महासंघ बाध्य भएकाे हाे । यसअघि बानेश्वरमा पाँचदिने रिले अनसन, सञ्चारगृहहरुमा १/१ घण्टा घेराउ, सूचना तथा प्रसारण विभागमा दिउसै लालटिन बालेर प्रदर्शनदेखि बालुवाटारमा ‘खै सरकार कता छ ?’ भन्दै थाल ठटाएर प्रधानमन्त्री निवास घेराउ कार्यक्रम सम्पन्न भइसकेकाे छ । समिति सह-संयाेजक जैसीकाे समन्वय र नेतृत्व एवं सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिका संयाेजक धर्मेन्द्र कर्णकाे मूख्य संयाेजनमा भएकाे पहिलाे चरणकाे राष्ट्रिय दबाबमुलक आन्दाेलनले पीडित श्रमजीवीहरु गाेलबद्ध हुँदै ठूला मिडियाका साहुहरुलाई पत्रकार/कर्मचारी निष्काशन राेक्न बाध्य बनाएकाे थियाे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा बनेको आन्दाेलन परिचलन समितिको निर्णयबमोजिम श्रमजीवीलाई दुःख दिने सञ्चारगृहहरुमा पत्राचार गरिएको हो ।

माग पूरा नगर्ने मिडिया हाउसहरुमा महासंघको नेतृत्वकै अगुवाइमा हुने आन्दोलनको तयारी थाल्न महासंघले सम्बद्ध मिडिया प्रतिष्ठानमा रहेका महासंघका शाखालाई निर्देशनसमेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्